प्रधानमन्त्रीको गुनासो: केही भन्नै नहुने संचारमाध्यमलाई, वुरूक्कै उफ्रिहाल्ने !

Top Post समाचार

१४ असोज, काठमाडौं । प्रधानमन्त्री केपीशर्मा ओलीले भर्खरै गठन भएको मिडिया एलायन्सका पदाधिकारीहरुसँग बुधबार साँझ भएको भेटमा सञ्चार माध्यमका सम्पादकहरुसँग गुनासो रहेको बताएका छन्।

केही भन्यो भने बुरुक्क उफ्रने प्रवृत्ति सञ्चार जगतमा रहेको उनले बताए। सञ्चार माध्यमले सरकारलाई दिनहुँ गाली गर्दा सहनुपर्ने तर सञ्चार माध्यमलाई आफूले एक पटक सुझाव दिँदा सहन्नँ भन्ने प्रवृत्ति सम्पादकहरुमा देखिएको ओलीले बताए।

सरकारलाई दिनरात गाली गर्दा सहनुपर्छ भनेर सुझाव दिने सञ्चार माध्यमले पनि सहने शक्तिको विकास गर्नुपर्ने उनको भनाइ छ।

उनले भने ‘सञ्चार जगत् यस्तो हो, अरु जसलाई जे भनेपनि छुट पाइन्छ। सञ्चार माध्यमलाई अलिकति चिसिक्क भयो भने खपिसक्नु हुँदैन, एकदम सेन्सेटिभ, यसो छोयो भने बुरुक्क उफ्रिहाल्ने, करेन्ट लागेजस्तो।’

प्रधानमन्त्री ओलीले नेपालमा अगाडि बढ्न चाहनेको खुट्टा तान्ने प्रवृत्ति रहेको पनि बताए। बाकसमा रहने भ्यागुताको उदाहरण दिँदै उनले कोही पनि अगाडि बढ्न नसक्ने गरी खुट्टा तान्ने प्रवृत्ति रहेको बताए।

प्रधानमन्त्री ओलीले मिडियाकर्मीहरुसँग विज्ञापन बोर्डको गठन छिट्टै हुने प्रतिवद्धता समेत जनाए। बोर्ड गठन नहुँदासम्म अन्य कुनै सरकारी संयन्त्रबाट बिज्ञापन बजारको नियमन गरिने उनको भनाइ छ।