गण्डकी गाउँपालिकाको केन्द्र परिवर्तनसम्बन्धी प्रस्ताव अस्वीकृत

समाचार

१३ असोज, गोरखा । लामो समयदेखि जारी गोरखाको गण्डकी गाउँपालिकाको केन्द्रसम्बन्धी विवाद कायमै रहेको छ। एक पक्षले गाउँपालिकाको केन्द्र बनटार हुनुपर्ने माग गर्दै आएकोमा सोसम्बन्धी प्रस्तावमा गाउँपालिका होम बहादुर राना मगरले निर्णयार्थ प्रस्तुत गर्दा सो प्रस्ताव अस्वीकृत भएको हो ।

गाउँपालिकाका प्रमुख कार्यकारी अधिकृत पुरुण गुरुङले अध्यक्षले निर्णयार्थ प्रस्तुत गरेसँगै भोटिङ हुँदा बनटारलाई केन्द्र बनाउने प्रस्ताव अस्वीकृत भएको जानकारी दिए । उनका अनुसार बनटारको पक्षमा जम्मा २१ मत प्राप्त भएको छ भने त्यसको विपक्षमा २२ मत परेको छ। कुनै पनि स्थानीय तहको केन्द्र परिवर्तनका लागि कार्यपालिकाको दुई तिहाइ मत आवश्यक रहन्छ ।

हाल गाउँपालिकाको कार्यालय भुम्लिचोकमा रहेको छ भने सो केन्द्र आफूहरुलाई अपायक परेको भन्दै एक समूहले असन्तुष्टि जनाउँदै आएको छ । सोही केन्द्र परिवर्तनको विषय अहिले राजनीतिक प्रतिष्ठानको सवाल समेत बनेको छ ।

बनटार केन्द्र रहने प्रस्ताव अस्वीकृत भएसँगै तत्कालका लागि गाउँपालिकाको केन्द्र भुम्लिचोक नै कायम रहेको छ । केन्द्रकै विवादका कारण सो गाउँपालिकाको गाउँसभासमेत प्रभावित हुँदै आएको थियो ।