साठी प्रतिशत कोरोना सङ्क्रमित काठमाडौं उपत्यकामा

समाचार

१३ असोज, काठमाडौं । काठमाडौँ उपत्यकामा थप ८१७ जनामा कोरोना भाइरस सङ्क्रमण देखिएको छ । सोमबार देशभर एक हजार ३५१ जनामा सङ्क्रमण देखिँदा काठमाडौँ उपत्यकामा मात्रै ठूूलो सङ्ख्यामा सङ्क्रमित भेटिएका हुन् ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौँमा ६४९ जना, भक्तपुरमा ३६ जना र ललितपुरमा १३२ जनामा कोरोना सङ्क्रमण देखिएको हो । यो सङ्ख्या सोमबार देशभर थपिएको कुल सङ्क्रमित सङ्ख्याको ६०.४७ प्रतिशत हो । काठमाडौँमा मात्र देशभर सङ्क्रमण देखिएको सङ्क्रमित सङ्ख्याको ४८ प्रतिशत रहेको छ ।

थप एक हजार ३५१ सङ्क्रमित
नेपालमा सोमबार थप एक हजार ३५१ जनामा कोरोना भाइरस पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा १० हजार ८० जनाको पीसीआर परीक्षण गर्दा थप एक हजार ३५१ जनामा कोरोना पुष्टि भएको प्रवक्ता डा. गौतमले जानकारी दिनुभयो । आइतबार एक हजार ५७३ जनामा कोरोना पुष्टि भएको थियो ।
योसँंगै नेपालमा कुल सङ्क्रमितको सङ्ख्या ७४ हजार ७४५ पुगेको छ । यस्तै हालसम्म देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या १९ हजार ६२४ रहेको छ । प्रवक्ता गौतमका अनुसार पछिल्लो २४ घण्टामा देशभर थप ७४२ जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन् । योसहित नेपालमा डिस्चार्ज हुनेको सङ्ख्या ५४ हजार ६४० पुगेको छ ।

थप चार जनाको मृत्यु
गत २४ घण्टामा देशभर थप चार जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मन्त्रालयका अनुसार मृत्यु हुनेमा चार जिल्लाका दुई महिला र दुई पुरुष छन् । जसमा भक्तपुरकी ५१ वर्षीया, सुनसरीकी ३८ वर्षीया महिला, बाँकेका ४७ वर्षीय र गुल्मीका ३४ वर्षीय पुरुषको मृत्यु भएको छ । यो सहित नेपालमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ४८१ पुगेको छ । आजको गोरखापत्रमा खवर छापिएको छ।