जोसुकैलाई पीसीआर परीक्षण गर्न बाध्य नपार्न सरकारको आग्रह

Top Post समाचार

१३ असोज, काठमाडौं । सरकारले काठमाडौंमा घरधनी र केही औद्योगिक प्रतिष्ठानले पीसीआर रिपोर्टका लागि सर्वसाधारणलाई बाध्य बनाएको भन्दै त्यस्तो नगर्न आग्रह गरेको छ ।

सरकारका प्रवक्ता तथा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले स्वास्थ्य मन्त्रालय र विश्व स्वास्थ्य संगठनको मापदण्डविपरीत कसैलाई पनि पीसीआर परीक्षणका लागि बाध्य नबनाउन आग्रह गरेका हुन् ।

पीसीआर रिपोर्ट नभई धरधनीले डेरामा बस्नेलाई पस्न नदिएको र औद्योगिक प्रतिष्ठानले काम गर्न नदिएको सुन्नमा आएको भन्दै उनले जबर्जस्ती पीसीआर परीक्षणका लागि बाध्य नपार्न आग्रह गरेका हुन् ।

‘स्वास्थ्य मन्त्रालयको प्रोटोकल छ, विश्व स्वास्थ्य संगठनले जारी गरेको प्रोटोकल छ । त्यसविपरीत जबर्जस्ती परीक्षण गर्नु उचित हुँदैन । त्यसले कुनै परिणाम पनि दिँदैन’ मन्त्री ज्ञवालीले भने ।