ओली-प्रचण्ड छलफल सकियो, मन्त्रिपरिषद् पुनर्गठनको तयारी लगभग पूरा

Top Post राजनीति समाचार

११ असोज, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का दुई अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीचको छलफल सकिएको छ । मन्त्रिपरिषद् पुनर्गठनको विषयमा केन्द्रित रहँदै गरिएको छलफल नतिजा उन्मुख रहेको बालुवाटार स्रोतको दावी छ ।

प्रधानमन्त्री तथा पार्टी अध्यक्षसमेत रहेका ओलीनिकट स्रोतले दिएको जानकारीअनुसार दुई अध्यक्षबीच मापदण्ड र रोस्टर बनाउने विषयमा कुराकानी भएको हो ।

ती स्रोतका अनुसार मन्त्रिपरिषद्‍मा अब नयाँ अनुहारले मौका पाउने बताएका छन् । प्रम ओलीले भने विष्णु पौडेललाई समेत मन्त्री बताउन चाहेको बताइन्छ । ती बाहेक भने नयाँ अनुहार आउने सम्भावना रहेको बुझिएको छ ।

नयाँ बन्ने मन्त्रीहरुमा यज्ञराज सुनुवार, विशाल भट्टराई, प्रेम आले, गणेश ठगुन्‍ना, विरोध खतिवडा, देवेन्द्र पौडेल, जनार्दन शर्माको नाम चलिरहेको बताइएको छ ।

तयारी लगभग पूरा भैसकेकाले मन्त्रिपरिषद् पुनर्गठन भने एकदुई दिन भित्रै हुने तयारी समेत रहेको बताइन्छ ।