जनरल इन्स्योरेन्सको आईपीओ निष्काशन तथा बिक्री खुला (कसरी दिने आवेदन ?)

अर्थ

११ असोज, काठमाडौँ। आइतबारदेखि जनरल इन्स्योरेन्स कम्पनी (GIC) ले प्राथमिक शेयर (आईपीओ) निष्काशनमा आएको छ। कम्पनीको जारी पूँजी एक अर्ब रुपैयाँको ३० प्रतिशत अर्थात ३० करोड रुपैयाँ बराबरको आईपीओ निष्काशनमा आएको हो।

कम्पनीले प्रतिशेयर १०० रुपैयाँ अंकित दरमा ३० लाख कित्ता अर्थात ३० करोड रुपैयाँ बराबरको आईपीओ निष्काशनमा ल्याएकाे छ। त्यसमध्ये ४ प्रतिशत अर्थात एक लाख २० हजार कित्ता कर्मचारीहरुलाई र ५ प्रतिशत अर्थात एक लाख ५० हजार कित्ता शेयर सामूहिक लगानीलाई सुरक्षित गरिएको छ। बाँकी रहने २७ लाख ३० हजार किता शेयरमा सर्वसाधारणले आवेदन दिन सकिनेछन्।

कम्पनीको आईपीओमा छिटोमा असोज १४ गतेसम्ममा आवेदन दिनुपर्नेछ। त्यस अवधिमा पर्याप्त आवेदन नपरे असोज २६ गतेसम्म शेयर बिक्री खुला हुने कम्पनीले जनाएको छ।

आईपीओ निष्काशनपछि कम्पनीको चुक्ता पूँजी एक अर्ब रुपैयाँ पुग्नेछ। त्यसपछि संस्थापकको ७० प्रतिशत र सर्वसाधारणको ३० प्रतिशत शेयर स्वामित्व हुनेछ।

कसरी दिने आवेदन ?

कम्पनीको आईपीओमा प्रतिशेयर १०० रुपैयाँका दरले न्युनतम १० कित्तादेखि १० हजार कित्तासम्मको लागि आवेदन दिन सकिनेछ। नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आश्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरू र मेरो शेयरबाट पनि आईपीओमा आवेदन दिन सकिने व्यवस्था छ।

धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका अनुसार हरेक आवेदकलाई १० कित्ताका दरले शेयर बाँडफाँड गर्दै जानुपर्ने हुन्छ। यसअनुसार गोलाप्रथाबाट २ लाख ७३ हजार जनाले न्युनतम १० कित्ता शेयर पाउनेछन्।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआइबिएल एस क्यापिटल रहेको छ भने प्रत्याभुतकर्तामा नेपाल एसबिआई मर्चेन्ट, सिद्धार्थ क्पापिटल, एनएमबि क्यापिटल रहेका छन्।