काठमाडौँमा घटेन कोरोना संक्रमण

समाचार

६ अस‍ोज, काठमाडौं । निषेधाज्ञा खुलेसँगै राजधानी काठमाडाँैमा भीडभाड बढेको छ तर कोरोना (कोभिड–१९)को सङ्क्रमण बढ्ने क्रम पनि रोकिएको छैन । सडक, बजार तथा पसलमा भीडभाडसँगै काठमाडौँ महानगरपालिकाका ३२ वटै वडा कार्यालयमा सेवाग्राहीको भीड बढ्न थालेको छ ।

काठमाडौँ उपत्यकाका तीन जिल्लामध्ये काठमाडौँ महानगरमा कोरोना भाइरसको सङ्क्रमण तीव्र रूपमा बढिरहँदा निषेधाज्ञा खुलेपछि सेवाग्राहीको चाप पनि वडा कार्यालयहरूमा बढ्न थालेको हो ।

निषेधाज्ञा खुलेसँगै दैनिक सरदर एउटा वडामा मात्र विभिन्न कामका लागि कम्तीमा पनि एक सय सेवाग्राही प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा आउने गरेको जानकारी सम्बद्ध वडा प्रमुखहरूले दिएका छन् । यसअघिको बन्दाबन्दीले गर्दा वडा कार्यालय नियमित रूपमा सञ्चालन नहुँदा सम्पत्ति र घरबहाल कर बुझाउन सेवाग्राही वडा कार्यालय धाउने गरेका छन् । वडा कार्यालयमा सेवाग्राहीको भीड बढेसँगै महानगरपालिका क्षेत्र कोरोनाको झनै केन्द्र बन्दै गएको छ ।

महानगरपालिकाका प्रवक्ता एवं वडा नं. १५ का वडाध्यक्ष ईश्वरमान डङ्गोलले निषेधाज्ञा खुलेसँगै महानगरपालिकाका वडा कार्यालयमा सेवाग्राहीको भीड बढेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “महानगरपालिका क्षेत्रमा हिँडडुल गर्ने व्यक्तिमध्ये ७० प्रतिशतले स्वास्थ्य मापदण्ड अपनाए पनि ३० प्रतिशत नागरिकले बेवास्ता गर्दा महानगरपालिकामा कोरोनाको उच्च जोखिम बढेको हो ।” आजको गोरखापत्रमा समाचार छापिएको छ।