Nepal Police

सवारी पास किर्ते गरेको आरोपमा गोरखाका एक पक्राउ

समाचार

२७ भाद्र, काठमाण्डौं । कोभिड–१९ को विश्वव्यापी संक्रमणका कारण स्वदेश आएका नेपाली नागरिकहरूलाई होल्डिङ सेन्टरबाट दिइने सवारी अनुमतीपत्र (सवारी पास) किर्ते गरी ठगी गरेको अभियोगमा गोरखा आरुघाट गाउँपालिका–१० घर भई काठमाडौं महानगरपालिका–२६ कपुरधारा बस्ने २७ वर्षीय विश्व प्रकाश पनेरुलाई प्रहरीले पक्राउ गरेको छ।

विदेशमा अलपत्र परी उद्धार गरिएका यात्रुहरुलाई आ–आफ्नो घर ठेगानामा पठाउनका लागि कोभिड–१९ संकट व्यवस्थापन संचालन केन्द्र, छाउनी काठमाडौंबाट जारी गरिएको होल्डिङ सेन्टरबाट दिइने सवारी पास पनेरुले किर्ते सहिछाप गरी सर्वसाधारणलाई प्रति थान दुई हजार रुपैयाँमा बिक्री गर्ने गरेका थिए।

पनेरुले पास बेचेको भन्ने सूचनाको आधारमा केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरीले टोखा नगरपालिका-७ तिलिंगटारबाट शंकास्पद कागजात सहित उनलाई पक्राउ गरेको हो।

पनेरु पानस ब्याङ्क्वेट होल्डिङ सेन्टरमा नेपाल टेलिकमको सिम वितरण गर्न खटिएका डिलर प्रतिनिधि रहेको प्रारम्भिक अनुसन्धानको क्रममा खुल्न आएको।

उनको साथबाट उक्त केन्द्रबाट जारी गरिएको सहीछाप गरेको र नगरेको १/१ थान सवारी पास र दुई हजार रुपैयाँ नगद प्रहरीले बरामद गरेको छ।

पनेरुलाई थप अनुसन्धान तथा आवश्यक कारवाहीको लागि महानगरीय प्रहरी वृत्त महाराजगंज पठाइएको उक्त ब्यूरोले जनाएको छ।