‘आफन्तलाई अँगालो हालेर रुन पनि पाइएन’

समाचार

२३ भाद्र, काठमाडौँ। ‘जिउँदाको जन्ती, मर्दाको मलामी’ हाम्रो समाजमा चल्तीको उखान हो। जिउँदो छँदा जन्ती र मर्दा मलामी कमाउनुलाई समाजले निकै उपलब्धि ठान्छ। तर कोरोना कहरमा यो उखानले उति मेल खाँदैन। मर्दा पनि एक्लै (मलामीबिना) हुन र परिवारका सदस्य पनि एक्लै थुनिएर बस्नुपर्ने अवस्था कोरोनाले ल्याइदिएको छ। मृतकका मलामी केही सुरक्षाकर्मी र शववाहनका चालकमात्र हुने गरेका छन्।

त्यसबाहेक आफन्त गुमाउँदा शोकमा परेका परिवारका सदस्यलाई सान्त्वना दिन पनि घरमा कोही पुग्दैनन्। एकातिर संक्रमणको डरले आफन्तको भेटघाट रोकिएको छ भने अर्काेतिर सामाजिक दृष्टि पनि उत्तिकै डरलाग्दो बन्दै गएको छ। आफन्त गुमाउँदाको पीडामा परेका परिवारका सदस्यको घाउमा मलम लगाउन यो कहरमा कोही पुग्दैन। यसले पीडितलाई झनै पीडा हुने गरेको छ।

यही भदौ २ गते तनहुँको व्यास नगरपालिका–१ घर भएकी ५० वर्षीया महिलाको पोखरामा कोरोना संक्रमणबाट मृत्यु भयो। सरकारी निकायले उनको शव पोखरामै व्यवस्थापन गरिदियो। तर ती महिलाकी छोरीलाई परेको यो पीडामा साथ दिने कोही भएन। १२ कक्षा पढ्दै गरेकी ती छोरी आमासँगै दमौलीको अम्रेनीमा बस्दै आएकी थिइन्। घरदेखि पोखरासम्म आमाको रेखदेखमा खटिएकी छोरीमा पनि परीक्षण गर्दा कोरोना पुष्टि भयो। त्यसपछि छोरीलाई उपचारका लागि तनहँुको खैरेनीटारस्थित जिपी कोइराला श्वासप्रश्वास केन्द्रमा लगियो। उनी निको भएर आइतबार घर फर्किइन्। ‘आमा भेन्टिलेटरमा हुँदा एकपटक दमौलीको गल्बुबेंसीबाट सानिमा भेटन् पुग्नुभो, त्यसपछि मेरो कसैसँग भेट हुन पाएन,’ उनले भनिन्, ‘आमा भेट्न पुगेकी सानिमा पनि क्वारेन्टिनमा बस्नुप-यो। आमाको मृत्युपछि म आफैं पनि संक्रमित भएकीले मलाई भेट्न आफन्त आउन सक्नुभएन। म हिजो (आइतबार) मात्र अस्पतालबाट घर फर्किएँ।’ उनका बुवा छैनन् भने एउटी दिदी दिदी अमेरिकामा छिन्। आमाको मृत्युपछि उनी एक्लिएकी छन्। आफू एक्लै हुँदाको पीडाभन्दा पनि यो अप्ठेरोमा कसैको साथ नपाउने अवस्था आउँदा झनै पीडा थपिएको उनले सुनाइन्। ‘म आफैं अस्पतालमा थिएँ। आफंै संक्रमित भएपछि आफन्त भेट्न आउने कुरै भएन,’ उनले भनिन्, ‘आमा गुमाउनुको पीडा अस्पतालमा एक्लै रोएर सहनुप¥यो। यस्तोमा आफन्तको पनि साथ पाउन सकिएन।’ पीडामा आफन्तलाई अँगालो हालेर रुन पनि नपाउने गरी कोरोनाले पराई बनाइदिएको उनले बताइन्। उनले भनिन्, ‘संक्रमणको त्रासले नै यो अवस्था आएको हो। अरु बेला यो दुःख आइपरेको भए पक्कै पनि आफन्तको साथ पाउँथें।’

‘पीडामा आफन्तलाई अँगालो हालेर रुन पनि नपाउने गरी कोरोनाले पराई बनाइदियो। सान्त्वना पाउनुपर्ने बेलामा पनि एक्लिनुपर्ने अवस्था निम्तियो। चोट लागेका बेला मलम लगाउने हो तर अहिले मलम लगाइदिने कोही छैन।’

कोरोनाबाट आमा गुमाएकी र आफू पनि संक्रमणबाट निको भएकी उनलाई अन्यले फरक दृष्टिकोणले हेर्दा भने निकै नै दुःख लागेको छ। ‘कसैसँग नजिक पर्नै नहुने अवस्था आएको छ। कोरोना संक्रमण हुँदैमा समाजले लाञ्छना लगाउनु राम्रो होइन,’ उनले भनिन्, ‘कसैले जानाजानी यो संक्रमण भित्र्याएको त होइन नि।’

कोरोना संक्रमणबाट भदौ २ गते नै पोखराका ८७ वर्षीय पुरुषको ज्यान गयो। उनको मृत्युपछि पनि परिवारका सदस्यले आफन्तको सहारा पाउन÷लिन सकेनन्। मृतकका ज्वाइँ भेषबहादुर गुरुङ कोरोनाले ‘जो म¥यो त्यो हा¥यो’ को अवस्थामा ल्याइदिएको बताउँछन्। ‘ससुराबुबाको मृत्युपछि आफन्तसँगको भेटघाटलाई हामी आफैंले स्वीकार गरेनौं तर मृतकको अन्तिम संस्कारसमेत गर्न नपाउँदाको क्षण भने निकै पीडादायी रह्यो,’ गुरुङले भने, ‘कम्तीमा हामी अन्तिम संस्कारमा सहभागी हुन नपाए पनि हाम्रा केही चाहनालाई राज्यले सुनिदिएको भए यति धेरै पीडा पर्दैनथ्यो।’ उनका अनुसार गुरुङ जाति भए पनि शव जलाउने संस्कार छ। त्यही संस्कारअनुसार जलाउने बेला मावलीबाट शव ढाक्न कपडा दिने चलन छ। मावलीबाट पाएको त्यो कपडाले शव ढाक्न सके स्वर्गमा बास हुने विश्वास छ। त्यसबाहेक फूलको माला, धुप, अक्षता चढाउने चलन पनि छ। ससुराको मृत्युपछि अन्तिम संस्कारका सामान तयार पारिदिन भनेर प्रहरीले फोन गरे पनि ती सामान लिन कोही नआएको दुखेसो उनले सुनाए। ‘मावलीबाट आएको कपडा, फूल, अक्षता, धुप तयार गरेर कुरी बस्यांै,’ उनले भने, ‘तर ती सामान लिन कोही आएन। केही बेरपछि शव व्यवस्थापन भयो भनेर फोन पो आयो। कम्तीमा हामी सहभागी हुन नपाए पनि ती सामग्री प्रयोग गरिदिएको भए दुःखमा पनि मन खुसी हुन्थ्यो।’ ससुराको अन्तिम संस्कारका लागि तयार पारिएका सामग्री पछि फ्याँक्नुपरेको उनले बताए। ‘ससुराबुबाको हातमा केही महँगा गहना थिए। ती सामान पनि हामीले बुझन पाएनौं,’ उनले भने।

कोरोनाका कारण सबैतिरबाट एक्लिनुपरेको उनले बताए। ‘मलामी त जाने कुरै भएन, परिवारमा पनि छुट्टिएर बस्नुपर्ने अवस्था रह्यो,’ उनले भने। ससुुराको मृत्युपछि परिवारका सदस्यको दुईपटक कोरोना परीक्षण गर्दा नेगेटिभ रिपोर्ट आएको उनले बताए। ‘हामीले केही दिनको फरकमा दुईपटक पिसिआर ग-याैं। दुवैपटक नेगेटिभ रिपोर्ट आयो,’ उनले भने, ‘नेगेटिभ रिपोर्ट आएपछि आफन्त घरमा आउन चाहेका थिए। तर हामीले नै नआउनु भन्यौं।’ पितृकार्य पनि गुम्बामा गरेको उनले बताए। ‘जाने (मर्ने) मान्छे पनि एक्लै जाने र बस्ने पनि एक्लाएक्लै भयौं,’ उनले भने, ‘घटना भएको तीन साता भयो तर हामी अझै सचेत छौं। सबै आफन्तलाई घरमा नआउनु भनेका छौं।’ कोरोनाले सबैलाई परिवार, साथीभाइ, छरछिमेक, नाताकुटुम्ब सबैतिरबाट एक्ल्याएको अनुभव उनले सुनाए। ‘संक्रमितको मृत्यु भए मलामी जाने कोही छैन। मृतकका परिवारका सदस्य नै आफन्तबाट पराई बनिरहेका छन्,’ उनले भने।

संस्कृतिकर्मी तीर्थ श्रेष्ठ कोरोना कहरले अप्ठेरोमा परेको बेला पनि आफन्त र साथीभाइबाट साथ नपाउने अवस्था आएको बताउँछन्। ‘मान्छे सामान्य प्राणी भएकाले समाजमै बाँच्ने र समाजमै मर्ने हो। एकअर्काको अन्तरनिर्भरतामा हामी बाँचेका छौं। एकअर्काबिना सम्भव छैन,’ श्रेष्ठले भने, ‘तर, कोरोनाले यो निर्भरता टुटाइदिएको छ। आवश्यकतामा पनि कसैको साथ छैन भन्ने अवस्था आयो। बाहिरबाट हेर्दा धेरै आफन्त छन् तर अहिले आवश्यक पर्दा कोही आउन सक्दैन।,

सान्त्वना पाउनुपर्ने बेलामा पनि एक्लिनुपर्ने अवस्था निम्तिएको उनले बताए। ‘चोट लागेका बेला मलम लगाउने हो। तर अहिले चोटमा मलम लगाइदिने कोही छैन,’ उनले भने, ‘कसैको पनि साथ नपाउने अवस्थामा परिवारका सदस्य झनै पीडित हुने गरेका छन्। पीडा पर्नेलाइ मात्र थाहा हुन्छ, अरुले त बाहिरबाट मात्र हेर्ने हुन्।’ पीडाभित्र पनि सचेत हुनुपर्ने अवस्था अहिले आएको उनले बताए। यही रुपमा समय अघि बढ्दै जाने हो भने संस्कार र संस्कृति नै जोगाउन नसकिने उनको भनाइ छ। ‘संस्कार र संस्कृति यत्तिकै बनेका होइनन् भन्ने कोरोनाले देखायो। संस्कार कति वैज्ञानिक रहेछ भन्ने अहिले बल्ल थाहा भएको छ,’ उनले भने। कोराना संक्रमणले गर्दा भयमा बाँच्नुपरेको उनले बताए। ‘यहाँ कोरोनाले मरेका मान्छेको मात्र सूचना छ। संक्रमित भएर बाँचेका मान्छेको उत्तिको सूचना आउँदैन,’ उनले भने, ‘हर्षको सूचनालाई सानो बनाएर दुःखको सूचनाले प्राथमिकता पाएको छ अहिले।’ आजको नागरिक दैनिक मा खबर छ।