प्राधिकरणमा कुलमान दोहोरिने सम्भावना बलियो

Headlines समाचार

२० भाद्र, काठमाडौँ। नेपाल विद्युत् प्राधिकरणको आगामी चारवर्षे कार्यकालका लागि पुन कुलमान घिसिङलाई जिम्मेवारी दिने सम्भावना बढ्दै गएको छ । घिसिङको कार्य कुशलता र पब्लिक सेन्टिमेन्टलाई मध्यनजर गर्दै उनकै कार्यकाललाई निरन्तरता दिनेगरी प्रस्ताव लैजाने तयारी भएको मन्त्रालय स्रोतले जनाएको छ ।

चार वर्षअघि २९ भदौ २०७३ मा विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकका रूपमा प्राधिकरण प्रवेश गरेका कुलमान घिसिङको कार्यकाल सकिन लागेसँगै प्राधिकरणमा नयाँ नेतृत्व चयनको विषयले सबैतिर व्यापक चर्चा पाएको छ । आगामी २९ भदौमा सकिन लागेको घिसिङको कार्यकाललाई लिएर सर्वसाधारण, कलाकारदेखि उनको पक्षमा रहेका नेता कार्यकर्ताले समेत घिसिङको कार्यकाल थप गर्नुपर्ने जोडदार माग गर्दै आएका छन् ।

चार वर्षअघि करिब नौ अर्ब घाटामा रहेको विद्युत् प्राधिकरण लगातार चार वर्ष नाफामा गएको छ

यसैबीच ऊर्जामन्त्रालय पनि प्राधिकरणमा घिसिङलाई नै निरन्तरता दिने पक्षमा सकारात्मक रहेको स्रोतले बताएको छ । यसअघि ऊर्जामन्त्री पुनको प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीसँग भएको अनौपचारिक छलफलमा घिसिङलाई नै निरन्तरता दिने पक्षमा प्रधानमन्त्री ओलीसमेत सकारात्मक देखिएको बताइएको छ । त्यस्तै,नेकपाका अर्का अध्यक्षले पनि घिसिङको विकल्प नखोज्नुपर्ने पक्षमा रहेका छन् । जनतादेखि लिएर उच्च ओहोदाका व्यक्तिसमेत कुलमानको पक्षमा रहेकाले घिसिङलाई नै निरन्तरदिनुपर्ने पक्षमा रहेका कारण मन्त्रालयसमेत यो विषयमा सकारात्मक रहेको स्रोतले बतायो ।

दैनिक १८ घण्टाको लोडसेडिङ अन्त्य प्रमुख भूमिका निर्वाह गर्दै आम जनमानसमा लोकप्रिय बनेका घिसिङ आफैं एक कार्यकाल दो¥याउन चाहन्छन् । घिसिङले प्राधिकरणको ३५औं वार्षिकसाधारण सभामा प्रसारणलाइन, भारत र बंगलादेशमा विद्युत् बिक्रीलगायतका योजना कार्यान्वयनका लागि कार्यकाल थपको मनसाय राखेका थिए । केही दिन अघिदेखि सामाजिक सञ्जालमा पनि उनकै कार्यकाल दोहो¥याउनुपर्ने जोडदार माग हुँदै आएको छ ।

प्राधिकरणको भावी नेतृत्वका लागि विद्युत् विकास विभागका महानिर्देशक नवीन सिंह रहेका छन् । प्राधिकरणको इन्जिनियरिङ कम्पनीका प्रबन्ध निर्देशक हितेन्द्र देव शाक्य, प्राधिकरणका पूर्वकार्यकारी निर्देशक मुकेश काफ्ले रहेका छन् । घिसिङले प्राधिकरणलाई सरकारी संस्थानमा पहिलो नम्बरमा ल्याउन गरेको योगदान, प्राधिकरणमा भएका सुधारको मूल्यांकन गर्दै अहिले प्राधिकरणको नेतृत्वका लागि कुलमान घिसिङको अर्को विकल्प नरहेको भन्दै चौतर्फी माग रहेको छ ।

प्राधिकरणमा अब आउने नेतृत्वका लागि चुनौती पनि उत्तिकै रहेका छन् । प्रसारणलाइनको निर्माण, उत्पादित विद्युत् खपत बढाउने, गुणस्तरीय बिजुली उपभोक्तासम्म पु-याउनुपर्ने, चार वर्षअघि करिब नौ अर्ब घाटामा रहेको विद्युत् प्राधिकरण लगातार चार वर्ष नाफामा गएको छ ।

घिसिङले नेतृत्व सम्हालेलगत्तै ठूलो घाटामा रहेको प्राधिकरणले नाफा आर्जन गर्न सुरु गरेको थियो । २०७३ भदौमा कार्यकारी निर्देशकमा रूपमा प्राधिकरणमा प्रवेश गर्दा वार्षिक ८ अर्ब ८९ करोड घाटामा रहेको संस्था आएको ११ महिनामै घाटा हटाउँदै १ अर्ब ४७ करोड नाफा आर्जन गरेको थियो । त्यसपछि गत आर्थिक वर्ष (२०७६-७७) सम्म आइपुग्दा ११ अर्ब ६ करोड नाफा गएको छ । आजको राजधानी दैनिक मा खबर छ।