नेकपा सचिवालय वैठक वालुवाटारमा शुरू, अर्थमन्त्री वारे निर्णय हुनसक्ने

Top Post समाचार

१८ भाद्र, काठमाडौं । नेकपा सचिवालय बैठक सुरु भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको बैठकले राष्ट्रियसभाका लागि सांसदको सिफारिस गर्न सक्ने बताइएको छ।

अर्थमन्त्री युवराज खतिवडाको ६ महिने कार्यकाल भदौं २० गते सकिने भएकाले खतिवडालाई दोहोर्‍याउने या नदोहोर्‍याउने भन्ने निर्णय आजै हुने छ।

प्रधानमन्त्री ओलीले खतिवडालाई दोहोर्‍याउन चाहेका छन् भने उपाध्यक्ष वामदेव गौतमले पनि राष्ट्रिय सभामा जाने चाहना राखेका छन्।

गौतमका पक्षमा बहुमत सचिवालय सदस्य रहेकाले प्रधानमन्त्रीले चाहेजस्तो निर्णय हुन कठिन रहेको छ। यसअघि फागुन १४ गते नेकपा सचिवालय बैठकले उपाध्यक्ष गौतमलाई राष्ट्रिय सभा सदस्य बनाउन सरकारलाई सुझाव दिएको थियो।

तर, प्रधानमन्त्री ओलीले सचिवालयको निर्णयलाई लागू गरेका थिएनन्। वैशाख २० गते बसेको सचिवालय बैठकले गौतमलाई उपयुक्त समयमा प्रतिनिधिसभा उमेदवार बनाउने निर्णय गरेको थियो।
फागुन १४ को निर्णयलाई वैशाख २० को निर्णयले प्रतिस्थापन गरेको प्रधानमन्त्री ओलीको बुझाइ छ।

त्यस्तै, आजको बैठकमा नेकपा विवाद समाधानका लागि गठित कार्यदलले बुझाएको प्रतिवेदनमा समेत छलफल हुनेछ। सचिवालयको मुख्य एजेण्डा यही रहेको भए पनि राष्ट्रिय सभा उमेदवार विवादले अन्य एजेण्डा ओझेलमा परेका छन्।