विद्यार्थी संगठन अनेरास्ववियूको बिबाद उत्कर्षमा, महर र तामाङ्ग बीच चर्को जुहारी

Top Post राजनीति समाचार

१७ भाद्र, काठमाडौँ। अनेरास्ववियूमा संयोजक र सहसंयोजकबीचको विवाद चरमोत्कर्षमा पुगेको छ । अनेरास्ववियुका संयोजक ऐन महर र सह–संयोजक रन्जित तामाङबीच आरोप प्रत्यारोप चलेको मात्र छैन, एक अर्काका बिरुद्ध सामाजिक संजालमा गालीगलौजको बर्षा नै हुन थालेको छ । फरक फरक पार्टी भएको बेला बोलेको अडियो रेकर्ड सार्वजनिक गरेर एक अर्कालाई हिलो छ्यापाछ्याप बढेको छ ।

महरले गुटगत भेला गरेपछि समानान्तर गतिविधि गर्नु परेको तामाङ पक्षको भनाइ छ । महरले गुटगत भेला गरेको केही दिनमै तामाङले साउन ९ मा एकलौटी विज्ञप्ति जारी गरेका थिए । उनको त्यो क्रम रोकिएन । साउन २० मा तामाङले फेरि एकलौटी विज्ञप्ति जारी गरिदिए । गुटगत भेलाबाट महर पनि विज्ञप्तिको प्रतिश्पर्धामा उत्रिए । महरले पनि साउन २५, २७ र भदौ ४ मा गरी तीन पटक एकलौटी रुपमा विज्ञप्ति जारी गरे । यता, तामाङद्वारा भदौ १२ मा जवाफी विज्ञप्ति जारी भयो । जसको तरंग सामाजिक सञ्जालमा पनि देखियो ।

संयोजक र सहसंयोजक दुवै जना शैक्षिक एजेन्डा भन्दा आर्थिक एजेन्डामा केन्द्रित रहेकाले विवाद बढेको स्रोत बताउँछ । दुवै नेताको रहरलाग्दो जीवनशैली छ, तर आम्दानीको स्रोत भने देखिँदैन । महर त महंगो कार चढ्छन् । जबकि उनको कुनै व्यवसाय छैन । अनेरास्ववियुकै आडमा उनले करोडौं कमाएको नेताहरु बताउँछन् । तामाङ पनि आर्थिक रुपमा सबल छन् । नेताहरु पैसा कमाउनमात्र लाग्दा अनेरास्ववियू भने अस्तव्यस्त बनेको छ । अहिलेसम्म एकताको काम समेत सम्पन्न हुन सकेको छैन । देशमा महामारी रहेको बेला कम्युनिष्ट पार्टीका कार्यकर्ता स्वयम्सेवामा खटिनुपर्नेमा संगठनभित्रै मारामार गरेर बसेका छन् ।

९ सदस्यीय सचिवालय, प्रदेश कमिटी, संयोजक र सह–संयोजकबाहेक जिल्ला कमिटी, विभाग र विश्वविद्यालय तहका इकाईको एकताले पूर्णता पाएको छैन । संगठनभित्र देखिएको विवाद समाधानका लागि छलफल गर्न निकाय नहुँदा विवाद सतहमा आएको नेताहरुको बुझाइ छ ।