उमा भुजेल रिहा लगत्तै पुन पक्राउ गर्ने प्रहरी प्रशासनकोे योजना विफल

Headlines समाचार

१४ भाद्र, काठमाडौं ।  नेत्रविक्रम चन्द समूहका नेता उमा भुजेल र सुमनसिंह पौडेल आज सप्तरीबाट रिहा भएलगत्तै पछाडिको ढोकाबाट भाग्न सफल भएका छन्। उनिहरलाई पुन: पक्राउ गर्ने प्रहरीको तयारी थियो।
सर्वोच्च अदालतको आजैको आदेशमा सप्तरी जिल्ला अदालतले सप्तरी जिल्ला बार एशोसिएशनको रोहवरमा उनीहरुलाई रिहा गरे पनि अदालत भवनको पछाडिको ढोका हुँदै साँझ ६ बजेतिर त्यहाँबाट भागेको सप्तरी बार एशोसिएसनका अध्यक्ष डोमन साहले जानकारी दिए।
बन्दीप्रत्यक्षीकरणको रिट निवेदनमा सर्वोच्च अदालतले आज अपराह्न ५ बजे रिहा गर्ने आदेश गरेबमोजिम उनीहरुलाई आज साँझ प्रहरी नियन्त्रणबाट मुक्त गरिए पनि फरार भएको र अहिले प्रहरीले चारैतिर खोजिरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक तिलक भारतीले जानकारी दिए।
इलाका प्रहरी कार्यालय कञ्चनरुप, सप्तरीले भुजेल र पौडेलमाथि सप्तरीको भारदहमा प्रहरीसँग अभद्र व्यवहार गरेको आरोप लगाउँदै यही भदौ ४ गते मुद्दा चलाएको थियो।