ब्रेक फेल भएर कीर्तिपुरमा प्रहरीको गाडी पल्टियो

समाचार

९ भाद्र, काठमाडौं । किर्तिपुरमा प्रहरीको गाडी पल्टिएको छ । मंगलबार बिहान पौने १० बजे महानगरीय प्रहरी वृत्त कीर्तिपुरको गाडी ब्रेक फेल भएर पल्टिएको हो । पाँगाबाट सुन्दरीघाटतर्फ जाँदै गरेको भ्यान कीर्तिपुर नगरपालिका-६ चोभारगेट नजिकै दुर्घटनामा परेको हो।

वृत्तका प्रहरीका अनुसार बा १ झ ८०६४ नम्बरको भ्यानमा ११ जना सवार थिए। त्यसमध्ये सात जना घाइते भएको वृत्तले जनाएको छ।

ड्युटीमा जान हिँडेका प्रहरीको गाडीको ब्रेक फेल भएर दुर्घटनामा परेको महानगरीय प्रहरी परिसरका एसपी सोमेन्द्रसिंह राठौरले जानकारी दिए । उनका अनुसार दुर्घटनामा सात जना घाइते भएका छन्। उनीहरूको उपचारका लागि कीर्तिपुर अस्पतालमा पठाइएको छ।