बारीभरि तरकारी, खाने छैनन्

अर्थ

८ भाद्र, मनाङ । विश्वकै प्रख्यात अन्नपूर्ण फेरोको पदमार्गमा पर्छ हिमालपारिको जिल्ला मनाङको मनाङ गाउँ । फेरोको पदयात्रामा पुगेका हजारौं विदेशी र स्वदेशी पर्यटकलाई आतिथ्यता दिलाएर त्यहाँका व्यवसायीले वर्षाैदेखि गुजारा चलाउँदै आएका थिए । पर्यटक आउजाउका कारण पदमार्गका चिया पसलदेखि व्यवस्थित रूपमा चलेका होटल सहजै धानिएका थिए । सिजनका बेला पदमार्गमा पर्यटक जाँदा त्यस क्षेत्रका सबैखाले व्यवसायीले राम्रै कमाइ गर्दथे ।

पर्यटनमा लागेका स्थानीयले पाहुनालाई आतिथ्यता दिन्थे भने कृषिमा लागेका गाउँलेले तरकारी तिनै होटल–रेस्टुँरालाई बेचेर आम्दानी गर्थे । तर, कोरोना भाइरस संक्रमणका कारण यो बेला पर्यटक आउजाउ ठप्प छ । विदेशी र आन्तरिक पाहुनाको आउजाउ पूर्ण रूपमा रोकिँदा साहसिक अन्नपूर्ण पदमार्ग क्षेत्र पनि महिनौदेखि सुनसान छ । पाहुना नपाउँदा पदमार्ग क्षेत्रका व्यवसायी कामविहीन भएका छन् । तर, त्यही मौका पारेर कतिपय पर्यटन व्यवसायी नयाँ अभ्यासमा लागेका छन् । पर्यटन व्यवसायीको त्यो अभ्यास हो–तरकारी खेती । पहिल्यैदेखि खेतीपाती गरिरहेका किसानको पेसा धेरै पर्यटन व्यवसायीले पछ्याउँदा अहिले मनाङमा पर्याप्त तरकारी फलेको छ ।

मनाङका पर्यटन अगुवा विनोद गुरुङले लामो समयदेखि होटल चलाउँदै आएका थिए । योपटक कोरोनाका कारण पाहुना आउजाउ रोकिएपछि गुरुङ खेतीपातीमा फर्किएका छन् । पोहोरसम्म तीन रोपनी जग्गामा तरकारी खेती गरेर अधिक समय होटलमा बिताउने गुरुङले यो पटक १२ रोपनी क्षेत्रफलमा तरकारी रोपेका छन् । फुर्सदको समय बारीमा लगाउँदा पर्याप्त तरकारी फलाउन सकेको उनले बताए । ‘पोहोर–परार पाहुनालाई सत्कार गर्दैमा फुर्सद हुँदैनथ्यो । योपटक कोरोनाले पाहुना आएनन्, त्यही भएर तरकारी खेतीमा लागे,’ उनले भने, ‘बरु यो पटक धेरै तरकारी खेती गरियो । उत्पादन भएको तरकारी खपत गर्न सकस छ ।’

पर्यटनमा लागेका धेरै व्यवसायीले पहिला पहिला तरकारी खेती गर्दा आफूलाई चाहिनेजति मात्र उत्पादन गर्नेगरि खेती गर्थे । त्यसमा अपुग हुँदा गाउँमै किन्थे । तर यो पटक सबैजना फुर्सदिला हुँदा पर्याप्त क्षेत्रफलमा तरकारी फल्दा खपत गर्न नसकेको उनले बताए । ‘प्याज, काउली, ब्रोकाउली, बन्दालगायत तरकारी यहाँ निकै नै फल्छ । पोहोरसम्म आफूलाई चाहिनेजति फलाइन्थ्यो । तर, अहिले १२ रोपनीमा तरकारी रोपेको त पर्याप्त फल्यो,’ उनले भने, ‘बरु यो पटक खपतमा सकस छ । गाउँमा बिक्री हुने अवस्था छैन । पाहुना नहुँदा खपत पनि हुँदैन ।’ उनका अनुसार बारीमा बन्दा, काउली, ब्रोकाउली, प्याज, लसुन, साग फल्छ भने टनेलमा गोलभेंडा र काक्रो फल्ने गरेको छ । ‘केहीवर्ष अघिसम्म त यहाँ तरकारी खेती नै हुँदैनथ्यो । मनाङमा तरकारी फल्दा सबैतिर अचम्म मान्थे,’ उनले भने, ‘अहिले भने धेरै फलेर तनाव भएको छ ।’

मनाङमा फलेको तरकारी त्यहाँका किसानले सदरमुकाम चामे र तल्लो भेगका गाउँसहित लमजुङ सदरमुकाम बेसीसहर झार्दथे । चामेभन्दा तल तरकारी खेती त्यति राम्रो हुँदैन । मनाङमा अर्गानिक मल बढी प्रयोग हुने हँुँदा उत्पादित तरकारी निकै स्वादिलो हुने उनले बताए । किसानले भेंडाच्यांग्राको मल खेतीमा प्रयोग गर्छन् । यतिसम्म कि कुनै तरकारीको बोटको पातमा किरा लाग्यो भने विषादी छर्ने नभई पातै टिपेर फ्याक्ने गुरुङले बताए । ‘अन्यत्र अर्गानिक भने पनि विषादी प्रयोग भएको तरकारी आउँछ । तर, मनाङको उत्पादन साच्चैको अर्गानिक हुन्छ,’ उनले भने । यो पटकको तरकारी राजधानी काठमाडांैंसम्म लगेर बेच्ने योजना बनाए पनि मनाङ पुग्ने स्थलमार्ग अवरुद्ध हुँदा ढुवानी गर्न नसकेको उनले बताए । ‘काठमाडौं लैजान सके पर्याप्त कमाइ हुन्थ्यो,’ उनले भने ।

अन्यत्र वर्षाका कारण तरकारी उत्पादनमा अफसिजन चले पनि मनाङमा भने यतिबेला सिजन चलिरहेको छ । ‘यो पटक अति उत्पादन भयो । बजार खोज्नुपर्ने समस्या छ । फुर्सदिला सबै गाउँले खेतीमा लागे । पर्याप्त समय पनि दिन पाए,’ उनल भने । गुरुङले व्यवसायिक रूपमा तरकारी खेती गरेको यो नै पहिलो वर्ष भएको बताए । ‘पहिला पहिला नपुग्दा किन्नुपथ्र्यो । तर योपटक बेच्न सकस छ,’ उनले भने । उनका अनुसार वैशाखमा रोपेको तरकारी अहिले सबैतिर फलेको छ । पानी कम पर्ने भएकाले यो बेला अभाव छैन । कात्तिकदेखि चिसोे बढ्ने हुँदा तरकारी हँुँदैन । अफसिजनका लागि गाउँलेले तरकारी नै स्टोर गरेर राख्छन् ।

मनाङ ङिस्याङ गाउँपालिका–५ का अध्यक्षसमेत रहेका कर्मछिरिङ गुरुङले पनि यो पटक तरकारी उत्पादन बढ्दा बजार पाउन नसकेको बताए । उनले पनि तीन रोपनी क्षेत्रफलमा तरकारी खेती गरेको बताए । ‘गाडी चलेका छैनन् । बाटो बन्द भएकाले बेसीसहरसम्म पनि तरकारी झार्न सकिएन,’ उनले भने, ‘साउनदेखि गाडी बन्द छ । यो पटक बारीमा तरकारी कुहिने अवस्था आयो ।’ मनाङका किसानका बारीमा यतिबेला काउली, बन्दा, ब्रोकाउली, साग, गाजर तयार छ । ‘माथिल्लो मनाङदेखि सदरमुकाम चामेसम्म गाडी चलेपनि चामेमा खपत कम हुन्छ । सानो ठाउँ भएकाले कर्मचारीसमेत गरी करिब १२ सय मान्छे बस्ने सदरमुकामले यो उत्पादन थेग्दैन,’ उनले भने, ‘त्यसैले बेसीसहर लैजानुपर्छ । तर बेसीसहर झार्ने बाटो छैन । पर्यटक आएको भए यो अवस्था आउने थिएन । सबैतिर फलेको छ, खाने मान्छे थोरै भए ।’

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)का मनाङस्थित कृषि प्राविधिक ओमबहादुर गुरुङका अनुसार योपटक त्यहाँँ तरकारी खेती निकै उत्पादन भएको छ । एक सिजनका लागि माथिल्लो मनाङको मनाङगाउँ, खाङसार, ङावल, भ्राका, घयारु क्षेत्रमा बढी उत्पादन हुन्छ । सदरमुकाम चामेभन्दा तल्लो क्षेत्रमा कम तरकारी फल्छ । हिमाली क्षेत्रमा ३७ सय मिटर उचाइसम्म तरकारी खेती हुने गरेको उनले बताए । ‘खाने पर्यटक छैनन् । गाउँका सबै किसानले पर्याप्त फलाएका छन्,’ उनले भने, ‘बरु बजारसम्म लैजान पाएका छैनन् । बाटो बन्द भएकाले सवारी नचल्दा किसान मारमा छन् ।’ उनका अनुसार १० किलोसम्मका बन्दा र एक किलोका गाजर फलेका छन् । काउली त एक किलोभन्दा कम तौलको नै नपाइने उनले बताए ।

एक्याप मनाङका संरक्षण अधिकृत बाबुलाल तिरुवाका अनुसार पछिल्लो समय मनाङमा तरकारी खेती निकै नै फस्टाएको छ । पहिला पहिला ग्रिन हाउसभित्र मात्र तरकारी खेती हुन्थ्यो । तर, अहिले बाहिर नै बन्दा काउली ब्रोकाउली, मुला, गाँजर, साग पर्याप्त उत्पादन हुन थालेको छ । टनेलभित्र गोलभेडा काक्रो, भेंडेखुर्सानी फल्ने गरेको छ । ‘यो पटक फुर्सदिला व्यवसायी पनि खेतीपातीमा लागे । अनि उत्पादन पनि बढ्यो, तर पर्यटक नहुँदा खपत हुन सकेन,’ तिरुवाले भने, ‘स्थानीयस्तरमा खपन नहुँदा किसानलाई समस्या भयो । पर्यटन चल्दा होटलले किन्ने तरकारी यो पटक पर्यटक नभएकाले खपत हुन सकेन ।’ पर्यटक नआउँदा ती किसान पनि मारमा परेको उनले बताए । आजको नागरिक दैनिकमा खबर छ।