विना काम घर बाहिर निस्के पक्राउ गरेर मिडिया मार्फत सार्वजनिक गर्छौं : प्रजिअ दाहाल

Headlines समाचार

३ भाद्र, काठमाडौं । काठमाडौं प्रमुख जिल्ला अधिकारी जनक राज दाहालले विना काम घर बाहिर निस्किनेलाई मिडिया मार्फत सार्वजनिक गर्ने वताएका छन्। दाहालका अनुसार कोभिड –१९ विरुद्ध करिब ५ महिनाको अभ्यासमा अहिले हामी छौं । यो समयको सन्देश भनेको हामीले दिनचर्यामा परिवर्तन गर्नुपर्छ । मास्क लगाउने, सेनिटाइजरको प्रयोग गर्ने र सामाजिक दूरी कायम गर्ने कुरामा हामीले ध्यान दिनुपर्छ । विज्ञहरुले पनि यति तीन वटा कुरालाई पूर्ण पालना गरे केही पनि नहुने भनेका छन् ।

अब यति कुरालाई पालना गर्न कसैले कसैलाई सिकाइरहनु पर्दैन जस्तो पनि लाग्छ । जहाँसम्म पालनाको कुरा छ, यसमा हामीले धेरै अनुरोध गर्‍यौं । अब दण्डात्मक रुपमा जान्छौं ।

दण्ड गर्छौं र दण्डित हुने मान्छेलाई पत्रिका, टिभीमा पनि सार्वजनिक गर्न पनि सक्छौं । मास्क लगाउन न पैसा लाग्छ ? हामीलाई मास्क लगाउन के समस्या छ ? तपाईं सेनिटाइजर प्रयोग गर्न पैसा तिर्नुपर्छ ? यति तीन कुरा पालना गर्न सरकारले विहानदेखि बेलुकासम्म भनेको भन्यै छ । तर, म मान्दैन मान्दिन भनेपछि मलाई कारबाही त प्रशासनले होइन, कोभिडले कारबाही गर्ने भयो । कोभिडले पाता फर्काउने भयो । यसकारण अब खाली कुरा के रह्यो भने कति इमान्दार भएर मैले नेपाल सरकारको अनुरोधलाई पालना गर्छु भन्ने हो । किनभने यो प्रत्येक व्यक्तिले पालना गर्नुपर्ने कुरा हो, एकजनाले मात्र गरेर हुँदैन ।

दशतिर गएर संक्रमित भएर ट्रेसिङ गर्ने खोज्दा पनि मोबाइल ‘स्वीच अफ’ गर्दिने, गलत मोबाइल नम्बर दिने हेर्नुस् त त्यस्तो पनि प्रवृत्ति देखियो । त्यसकारण अब यो क्षम्य हुँदैन । यस्तो प्रवृत्तिले आफू त मरौं मरौं अरुलाई पनि मार्ने पो जोखिम बढायो भन्ने हिसाबले हेरेका छौं । त्यसकारणले मर्निङ वाक गर्ने पनि एक हप्तालाई थाती राखौं । इभिनिङ वाक पनि थाँती राखौं । घरमै बसौं, योगा गरौं । त्यहीँ एक्सरसाइज गरौं । त्यसो हुँदा मरिँदैन । तर, बाहिर मर्निङ वाकमा धेरै भिडभाड गर्‍यौं भने मर्न सकिन्छ । यो कुरा सबैले बुझ्नुपर्‍यो ।