पुन: लकडाउनबारे मन्त्रिपरिषद बैठकमै अन्योल, कडा लकडाउन गर्नुपर्ने अधिकांश मन्त्रीहरुको धारणा

Top Post समाचार

२ भाद्र, काठमाडौँ। कोरोना भाइरस (कोभिड १९) को संक्रमण दिनहुँ बढ्दै गएपछि सरकार लकडाउन गर्ने या नगर्ने भन्ने बारेमा अलमलमा परेको छ। सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकमा लकडाउनबारे व्यापक छलफल भएपनि कुनै निर्णय भएन ।

एक मन्त्रीका अनुसार, कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि प्रायजसो मन्त्रीहरुले लकडाउन गर्नुपर्ने धारणा राखेका थिए । लकडाउन गर्नुको विकल्प नभएको भन्दै सो समयमा व्यापक परीक्षणका लागि आवश्यक तयारी गर्नुपर्नेमा समय मन्त्रीहरुको सुझाब थियो ।

मन्त्रीहरुको सुझावअनुसार नै आज सीसीएमसीको बैठक बस्ने र लकडाउनको मोडालिटीबारे छलफल गर्ने तय भएको छ । त्यसपछि सीसीएमसीको टोली र प्रधानमन्त्री केपी शर्मा ओलीबीच सामूहिक बैठकपछि लकडाउनबारे निचोडमा पुग्नेछ । साथै आज बस्ने बैठकले निजि अस्पतालहरूलाई कुन तरिकाले उपयोग गर्ने भनेर निर्णय हुने पनि सहभागी एक मन्त्रीले बताए।