कोरोना संक्रमणको त्रास बढ्यो, दैनिक ५–६ हजार व्यक्ति काठमाडौं भित्रँदै

Top Post समाचार

१८ साउन, काठमाडौँ। कोरोना संक्रमणको सन्त्रास थप बढिरहेका बेला उपत्यका बाहिरबाट अहिले दैनिक ५–६ हजार व्यक्ति राजधानी भित्रन थालेका छन् । सरकारले लकडाउनको मोडालिटीलाई खुकुलो गर्दै जोर–बिजोर प्रणालीमा सवारी चल्न दिने, पसल तथा व्यवसाय खुला गर्ने र सरकारी कार्यालयका सेवा सुचारु गर्ने निर्णय गरेसँगै उपत्यका बाहिरबाट राजधानी भित्रनेको संख्या बढेको थियो ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार लकडाउन खुकुलो भएपछि काठमाडौं भित्रनेको संख्या बढ्न थालेकामा हाल दैनिक ५–६ हजार व्यक्ति काठमाडौं प्रवेश गर्दै आइरहेका छन् । तर, यो संख्या भने पास लिएर आउनेहरूको मात्रै भएको महाशाखा बताउँछ ।

महाशाखाका प्रमुख एसएसपी भीमप्रसाद ढकालले हाल दैनिक ५–६ हजार व्यक्ति विभिन्न नाका हुँदै काठमाडौं भित्रँदै आएको बताए । ‘अहिले दैनिक पाँच–६ हजार व्यक्ति उपत्यका बाहिरबाट विभिन्न्न नाका हुँदै काठमाडौं आइरहेको देखिन्छ, यो संख्या पास लिएर आउनेहरूको मात्र हो,’ महाशाखा प्रमुख ढकालले राजधानीसँग भने ।

महाशाखाका प्रवक्ता वामदेव गौतमले ७५ प्रतिशत व्यक्ति नागढुंगा नाका र केही साँगा नाका हुँदै राजधानी भित्रँदै आइरहेको जानकारी दिए । उनले लकडाउनको समयमा राजधानीबाट बाहिरिनेको संख्या बढिरहेकामा अहिले भित्रने र बाहिरिनेको संख्या उस्तै हाराहारीमा रहेको जानकारी दिए ।

महाशाखाका प्रवक्ता गौतमका अनुसार बिनापास राजधानी आउने सवारी साधनलाई भने फिर्ता गरिँदै आइएको छ । ‘पास नलिई राजधानी भित्रने सवारीलाई प्रवेश दिइएको छैन, बिनापास आउने दैनिक २ सयसम्म सवारी साधनलाई फिर्ता पठाइएको छ,’ महाशखाका प्रवक्ता गौतमले भने । सरकारले गत ६ साउन रातिबाट लकडाउन हटाउने निर्णय गरेको थियो ।

सेटिङमै बन्छ पास

सरकारले ६ साउन रातिबाट लकडाउन हटाए पनि कोरोना संक्रमणको जोखिम कायमै रहेको भन्दै एक जिल्लाबाट अर्को जिल्लामा जान पास अनिवार्य गर्दै आइरहेको छ ।

तर, उपत्यका बाहिरबाट राजधानी भित्रने अधिकांश चारपांग्रे सवारी साधनले पटक पटक उपत्यका बाहिरका जिल्ला प्रशासन कार्यालयहरूको पास देखाएर यात्रु ओसारपसार गर्दै आइरहेका छन् ।

राजधानीलाई प्राप्त सूचनाअनुसार उपत्यका बाहिरबाट एउटै सवारी साधन पटक पटक यात्रु बोकेर राजधानी भित्रिएका छन् । ती सवारीधनीहरूले काठमाडौं आउनका लागि चिनजान तथा भनसुनका आधारमा जिल्ला प्रशासन कार्यालयहरूबाट पास लिंने गरेको पाइएको छ । यसरी लिइएको पासमा पृथ्वी राजमार्ग र बिपी राजमार्गमा पर्ने मुख्य जिल्लाहरूको नाम लेखिने गरेको नाकामा खटिएका प्रहरी अधिकृतहरू बताउँछन् ।

सवारी धनीहरूले वर्षाका कारण बाटो फेरबदल हुन सक्ने भन्दै पासमा सिन्धुली, मकवानपुर र काभ्रे जिल्लाको ठेगाना लेख्ने गरेको पाइएको उपत्यका भित्रने नाकामा खटिएका प्रहरी अधिकृतहरूको भनाइ छ ।

यसरी पास लिएपछि राजधानी आउन उनीहरूले कुनै अवरोध नहुने भन्दै सेटिङमै यात्रु खोज्ने र उनीहरूबाट चर्को भाडा असुल्ने गरिरहेका छन् । राजधानी आउने यात्रु ओसार्न अहिले धेरै जसो स्कार्पियोको प्रयोग हुँदै आइरहेको छ । सोह्रखुट्टे नयाँ बजारस्थित एक गार्मेन्ट उद्योगमा काम गर्ने मजदुरले एक स्कार्पियोमा ८ हजार भाडा तिरेर सप्तरीदेखि काठमाडौं आइपुगेको बताए ।

‘सिडियो कार्यालयबाट पास लिएको स्कार्पियोमा एक जनाको ८ हजारका दरले भाडा तिरेपछि सप्तरीबाट काठमाडौं आइयो, यसरी आउँदा पनि पालो कुनुप¥यो,’ गार्मेन्ट उद्योगमा काम गर्ने ती मजदुरले भने । काठमाडौं उपत्यकामा शनिबार साँझसम्म ५ सय ८९ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ । आजको राजधानी दैनिक मा खबर छ।