विदेशमा अलपत्र परेका नेपालीको उद्धारमा संयुक्त राष्ट्र संघले सहयोग गर्ने

Top Post समाचार

३२ जेठ, काठमाडौं । विदेशमा अलपत्र परेका नेपाली श्रमिकलाई उद्धार गर्न संयुक्त राष्ट्र संघले सहयोग गर्ने भएकाे छ  । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले संयुक्त राष्ट्र संघलाई उद्धारमा सहयोग गर्न गरेको आग्रहलाई  राष्ट्र संघले स्विकार गर्दै सहयोग गर्ने घोषणा गरेको हो ।

एनआरएनएका उपाध्यक्ष डा. बद्री केसीकाअनुसार राष्ट्र संघअन्तरगतको इन्टरनेश्नल अर्गनाइजेशन फर माइग्रेसन (आइओएम) सँग संघका अध्यक्ष कुमार पन्तसहितको टोलीले छलफल गरेको थियो ।

गत बुधवार भएको छलफलमा राष्ट्र संघअन्तर्गत नेपाल मिसनकी प्रमुख लोरेना लान्डाले आइएमओ विदेशमा रहेका नेपालीको उद्धारका लागि सहयोग गर्न इच्छुक रहेको जानकारी दिएकी थिइन् ।

आइओएमले कोरोना भाइरसको संक्रमणका कारणले नेपाल फर्किएका नेपालीलाई विमानस्थलबाट होल्डिङ्ग सेन्टरसम्म लैजानसमेत सहयोग गर्न इच्छुक रहेको जनाएको छ ।

धमाधम उद्धार सुरु

एनआरएनएले बिहीबारसम्म विदेशमा अलपत्र परेका पाँच सयभन्दा बढी नेपालीको उद्धार गरिएको जनाएको छ । संघका अध्यक्ष कुमार पन्तका अनुसार बिहीबार मात्र कुवेत सरकारको सहयोगमा २ सय ९९ नेपाली स्वदेश फर्किएका छन् ।

अध्यक्ष पन्तका अनुसार कुवेतको घर फिर्ती शिविरमा रहेका थप दुई हजार नौ सय ९१ जनालाई हरेक दिन दुई उडान गरी नेपाल फर्काउने तयारी भएको छ । अहिलेसम्म गैरआवासीय नेपाली संघ र विदेशस्थित नेपाली दुतावासको समन्वयमा म्यानमारबाट २६, खाडी मुलुक दुबईबाट एक सय ६८, अष्ट्रेलियाबाट ११, जापानबाट ७ र कुवेतबाट २ सय ९९ गरी  ५ सय ११ जनाको उद्धार गरिएको छ ।

कोरोना संक्रमणले विदेशमा नेपालीको मृत्यु हुने क्रम रोकियो

कोरोना भाइरसको संक्रमणले विदेशमा रहेका नेपालीको मृत्यु हुने क्रम रोकिएको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए) का अनुसार विगत ८ साता लगातार बिभिन्न देशमा रहेका नेपालीहरुले ज्यान गुमाएका थिए । यो साता भने कोरोना भाइरसको संक्रमणले कुनै पनि नेपालीले ज्यान गुमाउनु परेन । एनआरएनए अन्तर्गतको स्वास्थ्य समितिका अनुसार विश्वका बिभिन्न देशमा कोरोना संक्रमण दरमा हिजो (शनिवार) साँझसम्म उल्लेख्य रुपमा कमी आएको छ ।

डेनमार्क, नेदरल्याण्ड, अष्ट्रेलिया, जापान, म्यानमार, पोल्याण्ड, रुस, न्युजिल्याण्ड, क्यानाडा, फिनल्याण्ड, आयरल्याण्ड, जर्मनी, स्वीडेन, फ्रान्स, बेल्जियमलगायतका १५ देशमा बस्ने नेपालीहरु कोरोना संक्रमणबाट मुक्त भएका छन् । एनआरएनए स्वास्थ्य समितिका अनुसार यो साता विदेशमा ९ हजारभन्दा बढी नेपालीहरु कोरोना संक्रमणबाट मुक्त भएका छन् । केदार दाहालले आजको नयां पत्रिकामा  समाचार लेखेका छन् ।