३१ जेठ, काठमाडौं । नेपालको संसदले एकमतले संविधान संशोधन गरेको छ । शनिबार नेपाली भूभाग लिम्पियाधुरासहित समेटिएको नयाँ राजनीतिक नक्सालाई संसदले पारित गरेको हो ।। प्रतिनिधिसभामा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री शिवमाया तुम्बाहाङ्फेले संविधान संशोधनको प्रस्ताव प्रस्तुत गरेकी थिइन् । मन्त्री तुम्वाहाङ्फेले प्रस्ताव प्रस्तुत गरेपछि सभामुख अग्निप्रसाद सापकोटाले मतदान प्रक्रिया अगाडि बढाएका थिए । मतदानमा संविधान संशोधनको पक्षमा २ सय ५८ जना सांसदको मत परेको छ भने विपक्षमा सून्य मत परेको छ । प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले संविधान संशोधनको पक्षमा २ सय ५८ र विपक्षमा सून्य मत परेको घोषणा गरेका छन् । यो संख्या प्रतिनिधिसभाको तत्काल कायम संख्याको दुई तिहाईभन्दा बढी रहेको सभामुख सापकोटाले बताएका थिए ।
२ सय ७५ सदस्यीय प्रतिनिधिसभामा ४ सांसद निलम्बनमा छन् । जनता समाजवादी पार्टीकी सांसद सरिता गिरीले राखेको संशोधन प्रस्ताव सभामुख अग्निप्रसाद सापकोटाले अस्वीकृत गरेपछि उनी संसदबाट बाहिरिएकी थिइन् । अफ्ताव आलम कर्तब्यज्यानको आरोपमा थुनामा छन् । रेशम चौधरी पनि टीकापुर प्रकरणमा जेलमा छन् । विजय गच्छदार र हरिनारायण रौनियार भ्रष्टाचार मुद्दा लागेर निलम्बनमा छन् । सभामुख अग्निप्रसाद सापकोटाले निर्णायक अवस्थामा मात्र मतदान गर्नपाउने ब्यवस्था छ । २ सय ६९ मत संविधान संशोधनको पक्षमा पर्नुृपर्ने हो । तर ११ सांसदको मत नपरेको देखिन्छ ।
सरकारले यसअघि लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटेको नक्सा जेठ ७ मा स्वीकृत गरेको थियो । लिम्पियाधुरा, लिपुलेक, कालापानीसहितको भूभाग समेटेर सरकारले नयाँ नक्सा जारी गरेपछि निशानछापमा नयाँ नक्शा राख्न संविधान संशोधन गर्ने बिधेयक कानुनमन्त्री तुम्बाहाङ्फेले जेठ २७ मा प्रतिनिधिसभामा पेश गरेकी थिइन् । जुन बिधेयकमा सबै सांसदको समर्थन रहेको थियो ।
संसदमा दफाबार छलफल सकिएपछि मन्त्री तुम्बाहाङ्फेले संविधान संशोधन प्रस्ताव प्रतिनिधिसभामा प्रस्तुत गरेकी थिइन् । मन्त्रीेले प्रस्ताव प्रस्तुत गरेपछि सभामुख अग्निप्रसाद सापकोटाले निर्णयार्थ प्रस्तुत गरेका थिए । सभामुख सापकोटाले सांसदहरुलाई मतदानका लागि आग्रह गरेपछि सबैले आ आफ्नो आसनबाट उठेर संविधान संशोधनका पक्षमा दस्तखत गरेका थिए । सांसदहरुलाई दस्तखत गर्नमात्रै झन्डै ४५ मिनेट लागेको थियो ।