लिम्पियाधुरा, लिपुलेक समेटिएको नक्सा आज संसदबाट पारित हुँदै

Top Post समाचार

३१ जेठ, काठमाडौं । नेपालको सार्वभौम संसदले आज लिम्पियाधुरा, लिपुलेक, कालापानी, कुटी, गुञ्जी, नावीसहित समेटिएको नक्सा अनुमोदन गर्दैछ । आज दिउँसो १ बजे प्रतिनिधिसभाको बैठक बोलाइएको छ । उक्त बैठकबाट नक्सा सम्बन्धी नेपालको संविधान दोस्रो संशोधन विधेयक पारित गर्ने कार्यसूची तय भएको छ ।

बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री शिवमाया तुम्बाहाङ्फेले नेपालको संविधान दोस्रो संशोधन विधेयक २०७७ माथि दफावार छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछिन् । छलफलपछि कानुनमन्त्री तुम्बाहाङफेले नै उक्त विधेयकलाई पारित गर्ने प्रस्ताव प्रस्तुत गर्नेछिन् ।

nishan chap.jpg

अब नेपालको निशानछाप यस्तो हुनेछ 

भारतले कब्जा गरेको उक्त भुभागलाई समेटेर सरकारले जेठ ७ मा नक्सा पारित गरेको थियो । त्यो नक्सा निशानछापमा राख्नका लागि संविधान संशोधन गर्ने कार्य ऐतिहासिक कार्य आज हुँदैछ ।

नक्सा संशोधनका लागि जनता समाजवादी पार्टीकी सांसद सरिता गिरीले राखेको प्रस्ताव सभामुख अग्निप्रसाद सापकोटाले अस्वीकृत गर्नसक्ने छन् ।
उनले दर्ता गरेको संशोधन भौगोलिक अखण्डता विपरीत र विधेयकको मूल मर्मविपरीत दर्ता भएको भन्दै सभामुखले अस्वीकृत गर्न सक्नेछन् । यसबारेमा छलफल भइरहेको समाचार छ ।