आज बस्ने मन्त्रिपरिषद बैठकले लकडाउन खुकुलो गर्ने निर्णय गर्छ : प्रम ओली

Top Post समाचार

२८ जेठ, काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले आज बस्ने मन्त्रिपषिद् बैठकले लकडाउन खुकुलो पार्ने र जनजीवन सामान्य अवस्थामा फर्काउन महत्त्वपूर्ण निर्णय गर्ने बताएका छन् । उनले कोरोना परीक्षण गर्न निजी क्षेत्रका अस्पताललाई दिने विषयको निर्णय पनि मन्त्रिपरिषद् बैठकले गर्ने जानकारी दिए ।

लकडाउनकै सरलीकरण गर्ने विषय अथवा जनतालाई सजिलो बनाउने विषयमा, निजी क्षेत्रलाई टेस्टहरु गर्न दिइयोस् भन्ने विषय, विद्यार्थीहरुले, युवाहरुले झेल्नुपरेका समस्यालाई कसरी समाधान गर्छौ र शिक्षा क्षेत्रलाई कसरी सहज बनाउन सकिएला भन्ने विषयमा यसपछि बस्ने मन्त्रिपरिषद् बैठकले निर्णय गर्दैछ’ प्रधानमन्त्रीले  संसदमा बुधबार विनियोजित विधेयक २०७७ माथि सांसदहरुले राखेको प्रश्नको जवाफ दिने क्रममा भने ।

उनले थुप्रै कुराहरुलाई समयक्रमअनुसार सहजीकरण गर्ने भन्दै कतिपय पार्टी या विज्ञहरुले दिएको सुझावका आधारमा सरकार अघि बढ्ने बताए । ‘खाली उपचार, क्वारेन्टिन, आइसोलेसन, भेन्टिलेटरको मात्र कुरा नभई समाजिक क्षेत्रका विभिन्न पक्षलाई सहज बनाउन सकिने विषयमा ठोस निर्णय गर्नेछ’ प्रधानमन्त्रीको भनाइ छ ।